आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

बारा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।

वि.सं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवसका अवसरमा  भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन समेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।

आयुर्वेदको इतिहास अध्ययन गर्दा विभिन्न ग्रन्थहरूमा आयुर्वेदसम्बन्धी लेखहरू पाइए तापनि आयुर्वेद विज्ञानको सबैभन्दा भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै हो भन्ने स्पष्ट हुन्छ। अन्य आयुर्वेदिक अनुसन्धानकर्ता चरक, सुश्रुत आदिले पनि आफ्नो ज्ञान धन्वन्तरिबाट नै प्राप्त गरेको उल्लेख गरेका छन्।धन्वन्तरिको समय इसा पूर्व झण्डै ७ हजार वर्ष पहिलाको मानिन्छ। उहाँ काशीका राजा धन्वका पुत्र हुनुहुन्थ्यो। उहाँले शल्य (चिरफार) उपचारमा समेत महत्वपूर्ण अध्ययन गर्नुभएको थियो। धन्वन्तरिका नाति दिवोदास धन्वन्तरिले त्यसलाई परिमार्जन गरी आजको आधुनिक सर्जरी उपचार प्रणालीको विकास गरेका थिए। त्यसैले सर्जरी उपचारका प्रथम ज्ञाता ऋषि धन्वन्तरि नै मानिन्छ।

आजको समयमा हाम्रा जीवनशैली, आहार–व्यवहार र मानसिक तनावका कारण रोग–व्याधि र मानसिक अस्वस्थता तीव्र रूपमा बढ्दै गएको छ। कुनै पनि एकमात्र चिकित्सा प्रणालीले सबै किसिमका स्वास्थ्य समस्याको व्यवस्थापन गर्न पर्याप्त नहुने अनुभव हाम्रा सामु स्पष्ट छ। त्यसैले, विभिन्न कालखण्डमा गरिएको अनुसन्धान र विकास भएका चिकित्सा पद्धतिहरू, विशेषगरी योग, ध्यान र आयुर्वेदलाई समयानुकूल सुदृढ र व्यावहारिक बनाउँदै अघि बढाउन सकेमा रोग न्यूनीकरण र नागरिक स्वास्थ्य प्रवर्द्धनमा ठुलो टेवा पुग्नेछ। जय धन्वन्तरि! जय आरोग्य दिवस!

Comments (0)
Add Comment