मङ्सिर १२ बारा: बाराको पर्सौनीमा रहेको एक पानी उद्योगमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । पर्सौनी गाउँपालिका ६ भलुहीमा मा रहेको किरण वेभरेज नेपाल प्रालिमा कार्यरत सर्लाही धनकौल स्थायी ठेगाना भएका ४२ वर्षिय रामनरेश सिंहको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
वीरगंज–कलैया सडक खण्डमा पर्ने भलुही चोक नजिकै रहेको खोल्सामा सिंहको शव फेला परेको थियो । स्थानीयले शव देखेपछि शुक्रबार विहान प्रहरीलाई खबर देखेका थिए । शवको प्रकृति हेर्दा बिहीबार राति हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । शव भेटिएको स्थान र उनी कार्यरत उद्योगसँगै रहेकाले व्यवस्थापक सिंहको उद्योग भित्रै हत्या गरेर शव बाहिर फ्याँकिएको हुनसक्ने अनुमान प्रहरीको छ ।
राम किशोरक आफन्तका अनुसार उनि हिँजो साँझ लगभग ७ बजेतिर वीरगंजबाट उद्योगमा आएका थिए। उद्योग मै करिव ८ बजेको समयमा अज्ञात समूह पसेर सिसिटिभी क्यामेराको तारहरु काटेर उनको हत्या गरेको बताईएको छ। त्यसपछि उद्योगकै बाहिर केहि दुरीमा शवलाई घिसार्दै ल्याएर सानो खाडलमा फालेर अज्ञात समूह फरार भएको बताईएको छ। यता जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटना सम्बन्धि प्रहरीलाई बिहान करिव ८ बजे मात्रै जानकारी आएको थियो। त्यसपछि प्रहरीको टोलि घटनास्थलमा खटिएको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कलैयामा लगिएको बाराका प्रहरी प्रवक्ता डिएसपी पण्डितले जानकारी दिए । ‘भर्खरै शव पोष्टमार्टटमका लागि ल्याएका छौं, घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता पण्डितले भने ।