जनकपुरधाम मंसिर १९ :कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (बर्दिबास, महोत्तरी) द्वारा आयोजित १२औँ विश्व माटो दिवस विविध कार्यक्रम र गतिविधिमार्फत भव्य रूपमा सम्पन्न गरिएको छ। आयोजनामा प्रमुख अतिथि World Bank की प्रतिनिधि रेनु क्षेत्री, विशेष अतिथि धान अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादव तथा प्रमुख डा. राजेश सह उपस्थित रहे।
मंसिर १४ गतेदेखि १९ गतेसम्म सञ्चालनमा आएको प्रयोगशाला–केन्द्रित तालिममा प्रशिक्षक वरिष्ठ वैज्ञानिक महम्द फरद अली, सुन्दर श्रेष्ठ, उमेश साह, डा. पल्बी साह लगायतका विशेषज्ञहरूको प्रशिक्षण रहेको थियो। कार्यक्रममा मधेश प्रदेशका विभिन्न स्थानीय तहबाट २३ जना कृषि प्राविधिकको सहभागिता रहेको जानकारी आयोजक राजेश ठाकुरले दिएका छन्।
“स्वस्थ माटो, स्वस्थ गाउँ–शहर” भन्ने मूल नाराका साथ मनाइएको यस वर्षको दिवसले माटो संरक्षण, व्यवस्थापन तथा वैज्ञानिक विधिबाट दीगो उपयोगबारे जनस्तरमा सचेतना बढाउने उद्देश्य राखिएको संयोजक ठाकुरले बताए।
कार्यक्रमका क्रममा किसान मनोझ कुमार सिंहले खेतमा फस्फोरस र पोटासको असन्तुलन तथा पोषक तत्त्वको कमी बढ्दै गएको उल्लेख गर्दै अनुसन्धान र परीक्षणलाई अझ सुदृढ बनाउने आग्रह गरेका थिए।
बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल बहादुर साहका अनुसार देशका धेरै क्षेत्रमा जिंक, बोरोन, मोलिब्डेनम र सल्फरको कमी देखिएको छ भने पूर्वी क्षेत्रमा बोरोन अभाव बढी, बीउको गुणस्तर सुधार र माटो परीक्षण विस्तार आवश्यक रहेको उनले बताए।
राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमका संयोजक वैज्ञानिक मथुरा यादवले जैविक उर्वरकको प्रोत्साहन, टिकाउ कृषि प्रणालीको विस्तार र माटो उर्वराशक्ति पुनर्स्थापनामार्फत उत्पादनमा दिगोपन कायम गर्नु यस वर्षको दिवसको मुख्य लक्ष्य रहेको जानकारी गराए।
परियोजना प्रमुख डा. राजेश सहले बिषादीको दिगो व्यवस्थापन, माटो गुणस्तर सुधार तथा भविष्यका पुस्तालाई स्वस्थ भूमि हस्तान्तरण गर्ने लक्ष्यसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका छन्।