एआई प्रयोग सम्बन्धी एक दिने तालिम कोल्हवीमा सम्पन्न

बारा , २१ मंसिर
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बारा शाखाको सहकार्यमा आयोजित ‘मिडियाका सञ्चालक र पत्रकारका लागि एआई प्रयोग सम्बन्धी एक दिने तालिम कार्यक्रम’ आईतबार कोल्हवीमा सम्पन्न भएको छ। डिजिटल युगमा सञ्चारकर्मीको सीप वृद्धि र प्रविधिमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको तालिममा बाराका विभिन्न सञ्चारगृहका ४० जना भन्दा बढी पत्रकार र सञ्चालकहरूले सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभाका सदस्य त्रीलोकी चौधरीले दीप प्रज्वलन गर्दै तालिमको उद्घाटन गर्नुभएको थियो। उहाँले एआई प्रविधिको जिम्मेवार र दक्ष प्रयोगले पत्रकारितालाई अझ विश्वसनीय, छरितो र प्रभावकारी बनाउनेमा जोड दिनुभयो।
“डिजिटल रूपान्तरणको यो युगमा पत्रकारले निरन्तर नयाँ सीप सिक्नुपर्छ। विश्वभर द्रुत गतिमा विकास भइरहेका एआई उपकरणले पत्रकारितामा सामग्री उत्पादन, तथ्य–जाँच, अनुसन्धान र प्रस्तुतीकरणमा ठूलो परिवर्तन ल्याइरहेका छन्,” सांसद चौधरीले भन्नुभयो।
कार्यक्रमका प्रशिक्षक जिवन भण्डारीले मिडियामा कृत्रिम बुद्धिमत्ताका अवसर, चुनौती र व्यावहारिक प्रयोगका विषयमा विस्तृत प्राविधिक सत्र सञ्चालन गर्नुभयो। उहाँले सामग्री उत्पादनमा एआईका उपयोग, तथ्य–जाँचका नयाँ विधि, सुरक्षित प्रयोगका मापदण्ड तथा नीतिगत–एथिकल पक्षबारे सहभागीहरूलाई मार्गदर्शन गर्नुभएको थियो।
भण्डारीका अनुसार, “एआई पत्रकारका लागि सहयोगी उपकरण हो। तर यसको प्रयोग गर्दा स्रोतको विश्वसनीयता, तथ्य जाँच, गोपनीयता, र दुरुपयोगका जोखिमलाई ध्यानमा राख्नुपर्छ।”
कार्यक्रमको अध्यक्षता आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र कुमार खड्गाले गर्नुभएको थियो। अध्यक्ष खड्गाले एआईलाई सही ढंगले बुझेर प्रयोग गर्न सकेमा स्थानीय तथा प्रदेशस्तरको पत्रकारिता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
सहकार्य संस्था नेपाल पत्रकार महासंघ बारा शाखाका प्रतिनिधिहरूले तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका थिए।
आयोजक संस्थाका अनुसार, कार्यक्रममा सहभागीहरूले एआईका आधारभूत सीप, सुरक्षित तथा नैतिक प्रयोगका सिद्धान्त, सामग्री निर्माण र सम्पादनमा एआईले पुर्‍याउने सहयोग, तथा भविष्यको पत्रकारितामा एआईको भूमिकाबारे व्यावहारिक सीप र ज्ञान प्राप्त गरेका छन्।
Comments (0)
Add Comment