जनकपुरधाम, २१ मंसिर
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनीसहित नव–नियुक्त तीन मन्त्रीलाई शपथ गराएका हुन्।
नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट तीन जनालाई समावेश गरिएको छ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट जंगीलाल राय यादवलाई विना विभागीय मन्त्री , नेकपा एसबाट कनिश पटेललाई विना विभागीय मन्त्री र जनमत पार्टीबाट महेश प्रसाद यादवलाई अर्थमन्त्रीको रूपमा नियुक्त गरेका छन्।
मुख्यमन्त्री यादवले बाँकी मन्त्रालयहरूका जिम्मेवारी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि टुंगो लगाइने स्पष्ट पारेका छन्।उनका अनुसार गठबन्धन दलहरूसँग समन्वय गरेर पूर्ण मन्त्रिपरिषद् गठन गरिनेछ।
नेपाली कांग्रेस संसदीय दलका नेता रहेका कृष्णप्रसाद यादवलाई मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। यसअघि प्रदेशमा बारम्बारको सत्ता–परिवर्तनपछि स्थिर नेतृत्व आवश्यक रहेको चर्चा हुँदै आएको थियो।
शपथ ग्रहण समारोहमा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धन दलका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
मुख्यमन्त्री यादवले प्रदेशको राजनीतिक स्थिरता, वित्तीय सुधार, विकासगत काम सक्रिय बनाउने तथा प्रदेश सरकारलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।