पौष १, काठमाडौं:नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
निर्वाचन आयोगले आगामी २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ। उक्त निर्वाचनमा मतदाताले दुईवटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यतः निर्वाचनमा सहभागी हुने राजनीतिक दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा भाग लिने प्रचलन रहँदै आएको छ।
तर निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै सहभागी भई समानुपातिकतर्फ भाग नलिने भएका छन्। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन १०० राजनीतिक दलले दर्ता गराएका छन् भने तिनका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ। यस्तै, प्रत्यक्ष निर्वाचनतर्फ भने कुल ११४ राजनीतिक दल दर्ता भएका छन्।
आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल निर्वाचन चिन्ह लिई १२ राजनीतिक दलले दर्ता गराएका छन्।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै सहभागी हुने राजनीतिक दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय समुन्नति पार्टी रहेका छन्।
यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टीले पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै भाग लिने भएका छन्। यी राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा भने सहभागिता नजनाउने आयोगले जनाएको छ।
समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय राजनीतिक दलले अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेका हुन्।