बिरगंज महानगरपालिका–३१ बेलवामा उपप्रमुख इम्तियाज आलमद्वारा निर्माण कार्यको अनुगमन

बिरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले निर्माणाधीन तथा सम्पन्न विकास आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ। उपप्रमुख आलमको कोषबाट सञ्चालन भइरहेको सडक ढलान तथा रामजानकी मन्दिरको प्रखाल निर्माण कार्यको उहाँले अवलोकन गर्नुभएको हो।

केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समितिले उपप्रमुख आलमसमक्ष मन्दिरको प्रखाल निर्माणका लागि प्रस्ताव पेश गरेको थियो। सोही प्रस्तावलाई स्वीकार गर्दै उपप्रमुख आलमले प्रखाल निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो। प्रतिबद्धता अनुसार हाल प्रखाल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।

प्रखाल निर्माण सम्पन्न भएको अवसरमा रामजानकी मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा मन्तव्य दिँदै उपप्रमुख आलमले आफू सधैं स्थानीय जनतासँगै रहेको बताउनुभयो। उहाँले समुदायमा आपसी मेलमिलाप, भाइचारा र सहकार्यको संस्कार रहँदै आएको उल्लेख गर्दै सुख–दुःख साटासाट गर्दै समाजलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, रामजानकी मन्दिरको संरक्षण र विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रमको सभापतित्व पूर्व गाउँपालिका अध्यक्ष जोखन दासले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसनलगायतको उपस्थिती रहेको थियो। साथै, स्थानीय बासिन्दाहरूको बाक्लो सहभागिता रहेको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Comments (0)
Add Comment