कोल्हबीमा प्रहरीकै संरक्षणमा अनैतिक धन्दा ? महिनावारी असुलीको गम्भीर आरोप

कलैया , १८ पौष

बाराको कोल्हबी क्षेत्रमा अनैतिक गतिविधि नियन्त्रणभन्दा बाहिर जान थालेको छ । स्थानीयवासीले प्रहरीकै संलग्नता र संरक्षणमा तास–जुवा, अवैध मदिरा कारोबार तथा होटलभित्र अनैतिक गतिविधि खुलेआम भइरहेको गम्भीर आरोप लगाएका छन् ।

स्थानीय स्रोतका अनुसार तास तथा जुवा खेलाउने समूहसँग प्रहरीले मासिक पाँच हजार रुपैयाँका दरले असुली गर्दै आएको छ । त्यस्तै, अनुमति बिना सञ्चालित रक्सी भट्ठी तथा मदिरा पसलहरूबाट पनि नियमित ‘महिनावारी’ उठाउने गरिएको आरोप छ । यसका कारण अवैध धन्दा फस्टाउँदै गएको स्थानीयको भनाइ छ ।

यसैबीच, कोल्हबी नगरपालिका–२ स्थित तराई मिस्टिक होटेलमा अनैतिक गतिविधि भइरहेको सूचनापछि प्रहरी टोली पुगे पनि घटनालाई गम्भीर रूपमा नलिएको आरोप लागेको छ । चेकजाँचका क्रममा होटेलले पाहुनाको विवरण अनिवार्य रूपमा नराखेको पाइएको भए पनि कडा कारबाही अघि नबढ्नुले शंका उत्पन्न गरेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरी पुगेपछि होटेलका कर्मचारीहरूले बाहिरी ढोका नखोली समय बिताएका थिए । सोही क्रममा होटेलभित्र रहेका केही युवतीलाई सुरक्षित रूपमा बाहिर निकालिएको आरोप समेत स्थानीयले लगाएका छन् ।

नयाँ वर्ष मनाउन कोल्हबी पुगेका पत्रकार नवीन चौधरी अबेर भएकाले सोही होटेलमा बस्न पुगेका थिए । होटेलभित्र अनैतिक गतिविधि र होहल्ला देखेपछि उनले जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय कोल्हबीलाई तत्काल जानकारी गराएका थिए । तर सूचना पाएर खटिएको प्रहरी टोलीले अपेक्षित कदम नचाल्दा प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

स्थानीयवासीहरू भन्छन्, “प्रहरी नै पैसामा लिप्त भएपछि अनैतिक गतिविधि कसरी रोकिन्छ ?” समाजमा अपराध, विकृति र असुरक्षा बढ्दै जाँदा समेत प्रहरीको मौनताले राज्य संयन्त्रकै विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको उनीहरूको गुनासो छ । साभारः शुभारम्भ दैनिक

Comments (0)
Add Comment