नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर जान सकिने बताएका छन्।
नेकपा धनकुटा प्रचार विभागले आइतबार बिहान धनकुटामा गरेको पत्रकार भेटघाट कार्यक्रममा सहसंयोजक नेपालले अन्य दलहरूले गठबन्धन गर्न चाहे आफूहरू छलफल गर्न तयार रहेको बताए।
निर्वाचनमा गठबन्धन गर्न आफूहरूले मात्र चाहेर नहुने उल्लेख गर्दै उनले अहिले पनि कांग्रेस र एमालेजस्ता ठुला पार्टीहरू जता ढल्किन्छन् नेपालको राजनीति त्यतै अघि बढ्ने जिकिर गरे। आफूहरू निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै उनले भने, ‘यदि अदालतले विघटित संसद् पुनर्स्थापना गर्याे भने हामी अदालतको फैसलालाई सम्मानका साथ स्वीकार गर्नेछौँ।’
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपश्चात् राज्य सत्ता अत्यन्तै कमजोर र जटिल परिस्थितिबाट गुज्रिएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ताजा जनादेशमा जानु नै सबैभन्दा उपयुक्त विकल्प भएको बताए।
प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचन प्रणाली ठिक नभएको बताउँदै नेपालले अहिलेको निर्वाचन प्रणालीलाई केही सुधार गर्न भने आवश्यक रहेको प्रस्ट्याए। प्रत्यक्ष निर्वाचन प्रणाली श्रीलंकालगायतका छिमेकी देशहरूमा असफल भएको उल्लेख गर्दै उनले नेपालमा प्रणाली लागू भए अर्को जंगबहादुर जन्मने टिप्पणी गरे।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै सहसंयोजक नेपालले जेन–जी आन्दोलनमाथि तत्कालीन सरकारले गरेको बर्बतापूर्ण घटना दुःखद रहेको बताए। जेन–जीहरूले उठाएको माग जायज भए पनि व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकासहित व्यक्तिको घरमा भएको आक्रमण दुर्भाग्यपूर्ण भएको बताए।