कार्यान्वयन हुन नसक्ने कृषि योजना एक साताभित्र पेस गर्न मन्त्री पटेलको निर्देशन

जनकपुर, २२ पौष
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेलले प्रदेशस्तरमा कार्यान्वयन गर्न नसकिने कृषि योजनाहरूको विवरण एक साताभित्र पेस गर्न निर्देशन दिएका छन्।
कृषि विकास निर्देशनालय जनकपुरद्वारा आयोजित कार्यक्रममा मन्त्री पटेलले प्रदेशका आठवटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुखहरूलाई चालु आर्थिक वर्षमा सञ्चालन गर्न नसकिने योजनाहरूको छुट्टै सूची तयार गरी मन्त्रालयमा पठाउन आग्रह गरेका हुन्।
मन्त्री पटेलका अनुसार गत आर्थिक वर्षमा कृषि मन्त्रालयको प्रगति सबैभन्दा कमजोर देखिएको थियो। त्यसलाई दोहोरिन नदिन यस वर्ष प्रारम्भमै यथार्थ मूल्याङ्कन आवश्यक रहेको उनले स्पष्ट पारे। “कुन योजना कार्यान्वयन गर्न सकिँदैन, कानुनी अड्चनका कारण कुन कार्यक्रम सुरु गर्न अप्ठ्यारो हुन्छ, ती सबै विषय छुट्टाछुट्टै सूचीमा समेट्नुपर्छ,” मन्त्री पटेलले निर्देशन दिँदै भने।
कार्यक्रममा सहभागी कृषि ज्ञान केन्द्रका प्रमुखहरूले भने जिल्लामा दरबन्दीअनुसार आवश्यक कर्मचारी नहुँदा योजना कार्यान्वयनमा समस्या भइरहेको गुनासो गरेका थिए। जनशक्ति अभावकै कारण कतिपय कार्यक्रम समयमै अघि बढाउन नसकिएको उनीहरूको भनाइ थियो।
मन्त्री पटेलको निर्देशनसँगै मन्त्रालयले यस वर्ष कृषि क्षेत्रको योजना कार्यान्वयनमा यथार्थपरक र प्रभावकारी सुधार गर्ने तयारी गरेको संकेत देखिएको छ।
Comments (0)
Add Comment