काठमाडौं । सुनसरीको धरान घर भई ललितपुर बस्ने रितु (नाम परिवर्तन)लाई चिनेकी एकजना साथीले भनिन्, ‘दुई–तीन मिनेटको मुभी हेरेर पनि पैसा कमाइ हुने एप आएको रहेछ, मैले त त्यसमा पैसा हालेर कमाउन थालिसकेँ ।’
हलिउड फिल्मका क्लिप हेरेर कमाइ हुने कुराले रितुलाई पनि तान्यो । उनले एप डाउनलोड गरिन् । त्यसमा के–१ देखि के–९ सम्मको लेभल स्किमबारे व्याख्या गरिएको थियो । सुरुमा उनले ३ हजार रुपैयाँ एप्स सञ्चालकले भनेको खातामा डिपोजिट गरिन् । त्यसपछि ३ मिनेटको भिडियो हेर्दै एप्समा भने अनुसारको टास्क पूरा गरिन् ।
उनलाई मेसेज आयो- ‘बधाई छ, तपाईंले १ सय रुपैयाँ बोनस पाउनुभो ।’ त्यस्ता टास्क धेरै पूरा गरेर के–९ लेभलसम्म पुगेपछि लाखौं जित्नसक्ने आश्वासन पाएपछि रितुले एप चलाइरहिन् । त्यही एपमा घोत्लिँदा घोत्लिँदै ३ लाख गुमाएको उनलाई पत्तै भएन । त्यसपछि पो झस्याङ्ग भइन् ।
साइबर ब्युरोमा ठगीविरुद्ध उजुरी दिन आएकी रितुले रातोपाटीसँग भनिन्, ‘चार महिनामा मैले ३ लाख गुमाएँ, जम्मा २३ हजार फिर्ता पाएँ ।’
एपमा स्किम दिनेहरुले भन्थे, ‘लेबल बढाउँदै जाँदा रकम आउँछ ।’ लेबल बढाउन पैसा हाल्नुपर्ने र नयाँ ग्राहकलाई त्यहाँ कनेक्ट गराउनुपर्ने हुन्थ्यो । उनले अरु साथीहरुलाई पनि एपमा कनेक्ट गराइन् । ९ हजार ९ सय तिरेर उनी दोस्रो तह ‘के–टु’ सम्म पुगेकी थिइन् । के–३ मा पुग्न उनले बहिनीसँग पैसा मागिन् । बहिनीले गाउँबाट नौगेडी बेचेर रकम पठाएपछि उनले एपमा आएको क्यूआरमा रकम डिपोजिट गरिन् । त्यतिञ्जेलसम्म उनले एप सञ्चालकलाई देखेकी थिइनन् । चितवनको खैरहनी वडा नम्बर–६ मा कार्यालय छ भनिएपनि उनले देखेकी थिइनन् ।
रितु जस्तै २५५ जनाले अहिले उक्त एप मार्फत आफूहरू ठगिएको भन्दै प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएका छन् । अहिलेसम्म १२ करोड ८ लाख १६ हजार ठगी भएको जाहेरी आएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।
हलिउड फिल्म हेरेर कमाउने आशामा एउटै व्यक्तिले २१ लाखदेखि ५४ लाख रुपैयाँसम्म गुमाएको अनुसन्धानबाट थाहा भएको छ । चिनियाँ नागरिक ३७ वर्षीय हे जियाङ जियाङको योजनामा करोडौं ठगी भएको प्रहरीको भनाइ छ । चिनियाँ जियाङ सहित ११ जना अहिले साइबर ब्युरोको हिरासतमा छन् । उनीहरुविरुद्ध ब्युरोले पहिलोपटक विद्युतीय माध्यम सम्बद्ध ठगी तथा संगठित अपराध अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
एसएमसी एप ७२ हजार मानिसहरुले डाउनलोड गरेको भेटिएको छ । साइबर ब्युरोका एसपी अवस्थी भन्छन्, ‘जसले डाउनलोड गर्नुभयो, उहाँहरु कतै न कतै ठगिएको हाम्रो आशंका छ ।’
एपमार्फत ठगीमा संलग्न कसुरमा पक्राउ पर्नेमा चिनियाँ नागरिक जियाङ, रामेछाप घर भएका मिलन श्रेष्ठ, तनहुँका सौगात थापा, नुवाकोट घर भएका वीरबहादुर तामाङ, चितवनका सोनम खातुन, काठमाडौं टोखा घर भएकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङ गंगाजमुनाकी गीता गुरुङ, वीरगञ्जका नासिर मिया अन्सारी, सायरा खातुन र बाराका रामनिवास प्रसाद कलवार छन् ।
अमेरिकी सरकारको मान्यता भन्दै झुक्याए
ठगी गर्ने समूहले मार्च २०२५ मा एसएमसीलाई अमेरिकी सरकारबाट मान्यता पाएको भन्दै पीडितहरुलाई थप आश्वस्त बनाए । आरोपीहरुले भन्थे, ‘कम्पनीले अमेरिकी सरकारबाट अन्तर्राष्ट्रिय विस्तारको लागि नीतिगत समर्थन पाएको छ ।’
अप्रिल २०२५ सम्ममा एसएमसीले नेपालमा दशौं हजार रोजगारी सिर्जना गरको दाबी गर्दै २०२६ सम्ममा २० लाख रोजगारी सिर्जना गर्ने सपना उनीहरुले बेचेका थिए । पीडितहरुले त्यस्ता कुरा पत्याएर रकम लगानी गरिरहे । के–१ मा ३ हजार निक्षेप गर्दा दैनिक १ सय फिर्ता आउने र ३० दिनमा ३ हजार फिर्ता आउने मार्जिन प्रणाली उनीहरुले देखाउँथे । अनि १ वर्षमा घरमा बसेर फिल्म हेरेकै भरमा ३६ हजार ५ सय कमाइने आश्वासन बाँड्थे । मानिसहरु के–१ मा रोकिँदैन थिए । के–९ मा पुग्न खोज्दा लाखौं गुमाए, रकम फिर्ता आएन ।
एसएमसी नेपाल एड्भरटाइजिङ मिडिया प्रालि दर्ता गरेर आरोपीहरुले कम्पनी रजिस्ट्रार कार्यालयबाट प्रमाणपत्र पनि लिएका थिए । पीडितहरुलाई विश्वास दिलाउन २०८२ जेठ २९ मा दर्ता गरिएको सो कम्पनी अहिले खारेज भएको भेटिएको छ । करोडौं ठगेको सो समूहले २०२५ अगस्ट ५ मा एप गुगलमा अनपब्लिस गरेको छ ।
एउटै आरोपीको खातामा २० करोड
एसएमसी नेपाल एड्भरटाइजिङ मिडिया प्रालिको आवरणमा ठगेको आरोपमा वीरगञ्ज महानगरपालिका–४ बस्ने सायरा खातुन हिरासतमा छिन् । ६६ वर्षीया खातुनको बैंक खातामा २० करोड कारोबार भएको भेटिएको छ ।
आरोपीहरुले पीडितलाई खातुनको खाता दिन्थे र डिपोजिट गर्न भन्थे । खातुन पनि सुरूमा के–१ बाट प्रवेश गरेकी थिइन् । त्यसपछि अन्य योजनाकारले उनको खाता रकम संकलन गर्न प्रयोग गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘पाँच महिनामा खातुनको खातामा २० करोड कारोबार भएको देखिन्छ ।’
ठग्ने समूहले उदयपुरमा एउटा गाउँभरका मानिसलाई ठगेको भेटिएको छ । ठग्ने समूहका मुख्य योजनाकार चिनियाँ नागरिक पुस २ मा पक्राउ परेका थिए । ब्युरोका एसपी अवस्थी भन्छन्, ‘त्यसपछि अरु १० जना पक्राउ परेका हुन् ।’
नयाँ सदस्य ल्याएमा ७ हजार कमिसन आउँछ भनेर उनीहरुले सदस्य संख्या बिस्तार गरे । एउटै समूहमा ६८ जनासम्म सदस्य छन् । ग्राहकलाई आकर्षित गर्न आरोपीहरुले मोटरसाइकल, सुन र खसीबोका उपहार पठाउने गरेका थिए । एकजना पीडित भन्छन्, ‘मैले चिनेको एकजनाले बाइक र सुन जितेको छ, त्यो देखेर हामीले पनि विश्वास गरेका हौं ।’