जन जागरण युवा क्लबले २८औँ वार्षिकोत्सवमा अनाथ बालबालिकालाई सहयोग

कलैया , २४ पौष

जन जागरण युवा क्लब (JJYC), बाराले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अमृता अनाथ आश्रमका बालबालिकालाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ।

अमृता अनाथ आश्रम, कलैयामा सम्पन्न कार्यक्रममा आश्रममा बसोबास गर्ने बालबालिकालाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीसहित जाडो मौसममा आवश्यक पर्ने न्यानो कपडा प्रदान गरिएको थियो। कार्यक्रमका उपाध्यक्ष राजदेव साहले बालबालिकाप्रति सहयोग र सद्भावको सन्देश प्रवाह गर्न यस कार्यक्रम आयोजना गरिएको बताए।

क्लबका कोषाध्यक्ष सियाराम यादवले जनचेतना, सामाजिक सेवा र युवाको सक्रिय सहभागितालाई संस्थाको प्राथमिकता रहेको र स्थापना कालदेखि यस्ता रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको बताए। यसै अवसरमा क्लबले आफ्नो वार्षिकोत्सव अनाथ बालबालिकासँगै केक काटेर मनाएको पनि उनले जानकारी दिए।

कार्यक्रममा क्लबका सदस्य, स्थानीय समाजसेवी र आश्रमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले क्लबको मानवतावादी पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

आश्रमकी सन्चालिका फुलमती बस्नेतले सहयोगका लागि क्लबप्रति धन्यवाद व्यक्त गर्दै आफुले २०५८ सालमा भिख माग्ने बालबालिकालाई देखेर यो अनाथ आश्रम स्थापना गरेको र हाल १७ जना बालबालिका आश्रममा बसोबास गरिरहेका छन् जानकारी दिइन्।

कार्यक्रम वरिष्ठ कार्यक्रम संयोजक कृष्ण प्रसाद यादव, शिक्षा परियोजना अधिकृत राजनारायण राम, शिक्षा अधिकृत निशा पन्त, टिबेट परियोजना अधिकृत गौरीशंकर यादव, लेखा अधिकृत ममता कापर लगायत ५० भन्दा बढी कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रमको स्वागत क्लबका कार्यकारी निर्देशक डा. श्रीनिवास बैठकले गरेका थिए भने सन्चालन कार्यक्रम संयोजक नरेश साहले गरेका थिए।

Comments (0)
Add Comment