निर्वाचन सुरक्षामा तीनै सुरक्षा निकाय परिचालन

काठमाडौं ___ भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी लिएको नागरिक सरकारले निर्वाचन सुरक्षाका लागि तीनवटै सुरक्षा निकायलाई देशभर परिचालन हुन निर्देशन दिएको छ । सरकारले घोषणा गरेको निर्वाचन मितिसम्म अब ५५ दिनमात्र बाँकी रहँदा सुरक्षा निकायहरूले आ–आफ्ना सुरक्षा कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन सुरक्षाको वातावरण तयार गर्न देशव्यापी परिचालन सुरु गरेका छन् । यसपटकको निर्वाचनमा नेपाली सेनाले ७९ हजार ७२७, नेपाल प्रहरीले ७१ हजार ६२० र सशस्त्र प्रहरी बलले ३९ हजार ६८६ जनशक्ति निर्वाचन सुरक्षामा परिचालन गर्ने भएका छन् ।

 

त्यसै गरी, निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलले १५ हजार म्यादी प्रहरी भर्ना गरी परिचालन गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बलले पहिलोपटक निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ४० दिने कार्य अवधि रहेको म्यादी प्रहरीले निर्वाचन सम्पन्न भएर परिणाम आएपछि बिदा पाउने छन् । यसपटक म्यादीमा भर्ना हुन चाहने प्रहरीमा विगतमा समेत खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिने सुरक्षा निकायले जनाएको छ ।

Comments (0)
Add Comment