सिमरौनगढ, बारा :बिशेष नगर सभाको बिषयलाई लिएर सिमरौनगढ नगरपालिकाकी उप–नगरप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर लहेरामाथि हातपात, दुर्व्यवहार तथा गाली–गलौज गर्दै अभद्र टिप्पणी गरेको घटनापछि नगरपालिकाका सम्पूर्ण कामकाज भोलीदेखि ठप्प हुने भएका छन्।
घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नगरपालिकामा कार्यरत कर्मचारीहरूले कार्यस्थलमा असुरक्षा महसुस भएको बताएका छन्। उनीहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिबाटै यस्तो व्यवहार हुनु निन्दनीय रहेको उल्लेख गर्दै दोषीमाथि छानबिन तथा कारबाहीको माग गरेका छन्। माग सम्बोधन नभएसम्म कार्यालयका नियमित सेवा प्रवाह रोक्ने निर्णय गरिएको कर्मचारी स्रोतले जनाएको छ।
घटना विशेष नगर सभा सम्बन्धी विषयमा उत्पन्न विवादका क्रममा भएको बताइए पनि उप–नगरप्रमुख शेहरको तर्फबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। यद्यपि, स्थानीय राजनीतिक वृत्तमा घटनाले ठूलो तरंग सिर्जना गरेको छ।
नगरपालिकाको कामकाज ठप्प हुँदा सेवा लिन आउने सर्वसाधारण नागरिक मारमा पर्ने देखिएको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०८२/०९/२५ गते कार्यालय परिसरमै भएको उक्त घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको गरिमा, मर्यादा तथा सुरक्षामाथि प्रत्यक्ष आघात पुगेको जनाएको छ। घटनालाई अमर्यादित, गैरकानुनी र निन्दनीय कार्यको संज्ञा दिँदै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।
कर्मचारीको सुरक्षा, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सिम्रौनगढ नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू (शैक्षिक संस्थाबाहेक) मा अत्यावश्यक सेवाबाहेकका सबै सेवा अनिश्चितकालका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित निकायबाट निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र सुरक्षित कार्य वातावरणको सुनिश्चितता हुने विश्वाससमेत व्यक्त गरिएको छ। यस सूचनाका कारण सेवाग्राही तथा सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति कर्मचारी परिवारले क्षमायाचना गरेको छ।