परवानीपुर गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, उत्कृष्ट करदाता तथा वडा कार्यालय सम्मानित

बारा, २८ पौष
परवानीपुर गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशन सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। चालु आर्थिक वर्षको हिउँदे अधिवेशनका रूपमा सम्पन्न उक्त गाउँसभामा गाउँपालिकाको समग्र विकास, योजना कार्यान्वयन र प्रगति अवस्थामाथि व्यापक छलफल गरिएको थियो।
परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न १७ औँ गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो। सभामा चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै स्वीकृत योजना तथा कार्यक्रमहरूमा आवश्यक संशोधन समेत पारित गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधिहरूले उठाएका गुनासो तथा जिज्ञासाहरूको सम्बोधन गाउँपालिका अध्यक्ष कुर्मीले गर्नुभएको थियो। उहाँले वडा नम्बर १ देखि ५ सम्म भौतिक संरचना निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, दलित तथा सामाजिक क्षेत्रहरूमा उल्लेखनीय काम हुँदै आएको उल्लेख गर्दै समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडा सदस्य तथा सम्पूर्ण जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
अध्यक्ष कुर्मीले आफू निर्वाचित भएदेखि नै गाउँपालिकाको विकासका लागि सबै जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा सरोकारवालाबाट निरन्तर सहयोग पाएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कामका लागि सहकार्यको अपेक्षा रहेको धारणा राख्नुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य व्यक्त गर्दै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको विस्तृत प्रगति प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो।
सभामा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
यसैबीच, १७ औँ गाउँसभा अधिवेशनकै अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा ठूला करदातालाई विशेष सम्मान गरिएको छ। उक्त आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि. का सञ्चालक सुरेश रुंगटाले ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको जनाइएको छ। त्यसैगरी जय श्री हेल्थ केयर प्रा.लि. ले ६ लाख रुपैयाँ कर समयमै बुझाएको छ। दुवै संस्थालाई गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख १० हजार रुपैयाँ राजस्व संकलन गर्न सफल परवानीपुर गाउँपालिका वडा नम्बर ५, बहुअरी वडा कार्यालयलाई समेत सम्मान गरिएको छ। वडा मातहतका उद्योगहरूबाट सहजीकरण गर्दै कर संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर साह कलवारलाई दोसल्ला ओढाई सम्मान गरिएको हो।
गाउँपालिकाले करदाताको सम्मानले राजस्व संकलनमा सकारात्मक सन्देश जाने र स्थानीय विकासमा नागरिक सहभागिता अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
Comments (0)
Add Comment