निर्वाचनमा ४१ दिन बाँकी : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौँ, माघ ९ : प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचन कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।
उम्मेदवारी फिर्ता लिने प्रक्रिया सम्पन्न भएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जानकारी दिएको छ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको कार्यक्रमअनुसार माघ ७ गते दाबी–विरोधमा उजुरी दिने समय तोकिएको थियो। सो दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गरिएका थिए। उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरी निर्णयपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहबाट रहेका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना सदस्य निर्वाचित हुनेछन्।

Comments (0)
Add Comment