फेटा बारा : फेटा गाउँपालिका वडा नं. ७ अन्तर्गत टोल कुकुरभुकाबाट कवर्थु बाबा १६ जना कवर्थु बाबाहरू हजारी काफलामा सहभागी हुन तयारी अवस्थामा रहेका बेला भव्य तथा सभ्य वातावरणमा बिदाइ गरिएको छ।
कुकुरभुकाका कवर्थु बाबाहरू, गाउँका भद्रभलाद्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिमा बिदाइ कार्यक्रम सम्पन्न भएको हो। बिदाइ समारोहमा कवर्थु बाबाहरूलाई गम्छा ओढाइ सम्मान गर्दै औपचारिक रूपमा बिदाइ गरिएको थियो।
खाली खुट्टा हिँड्दै हजारी काफलामा सामेल हुने तथा काफलाका राजा साहेबको निर्देशन अनुसार नीति–नियमको पालना गर्दै यात्रा गरिने जनाइएको छ। यस कावर यात्राले आस्था, अनुशासन र सामूहिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
हजारी काफलामा सहभागी कवर्थु बाबाहरूले यात्राभर आपसी सहयोग, समानता र मानवताका मूल्यलाई आत्मसात गर्दै प्रतिबद्धताका साथ अघि बढ्ने र आज देवतालको फुलवरियाको कचहरिमा सहभागी हुने बताएका छन्।
यस सम्बन्धी जानकारी फेटा गाउँपालिका वडा नं. ७ का वडा सदस्य सोनालाल साहले दिनुभएको हो।