सत्ताका लोभीहरू रातारात पार्टी मात्र होइन, निर्वाचन क्षेत्रसमेत परिवर्तन गर्दैछन् : युवा नेता उमेश दुबे

बारा, १७ माघ
बारा जिल्लामा मात्र नभई देशभर नै सत्ताको लोभमा रातारात पार्टी परिवर्तन गर्ने र आवश्यक परे निर्वाचन क्षेत्रसमेत फेर्ने प्रवृत्ति खतरनाक रूपमा बढ्दै गएको युवा नेता उमेश दुबेले कडा आलोचना गरेका छन्। उनले यस्तो प्रवृत्तिले नेपाली राजनीतिलाई सिद्धान्तविहीन, अवसरवादी र जनविरोधी बनाउँदै लगेको आरोप लगाए।
जनताको सेवा, हकहित र आवाज बन्ने नाममा राजनीति गर्ने धेरै कथित नेताहरू वास्तवमा व्यक्तिगत स्वार्थ र सत्ता प्राप्तिको दौडमा केन्द्रित रहेको दुबेले बताए। “सिद्धान्त, विचार र प्रतिबद्धताको कुनै मूल्य छैन। जहाँ सत्ता र सम्भावना देखिन्छ, त्यहीँ दौडिने प्रवृत्ति अहिले सामान्य भइसकेको छ,” उनले भने।
जनमत पार्टीका केन्द्रीय सदस्य तथा फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवारसमेत रहेका दुबेले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धेरै नेताहरूले तथाकथित ‘लहर’ को फाइदा उठाउन रातारात पार्टी परिवर्तन गरेको खुलासा गरे।
उनका शब्दमा, “जसको जित्ने सम्भावना देखिन्छ, त्यही पार्टीमा हाम फाल्ने, पुरानो विचार र प्रतिबद्धता बिर्सिने, आवश्यक परे आफ्नै जन्मथलो छाडेर अर्को निर्वाचन क्षेत्रमा पुग्ने — यही नै आजको राजनीतिक चरित्र बनेको छ।”
दुबेले आफूलाई परिवर्तनको वाहक दाबी गर्ने दलहरू समेत यस प्रवृत्तिबाट अछुतो नरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रसमेत पैसाको भरमा टिकटको खरिद–बिक्री भएको गम्भीर आरोप लगाए।
उनका अनुसार टिकट वितरणमा पारदर्शिता छैन, उम्मेदवार छनोटमा विचार होइन पैसा निर्णायक बन्दै गएको छ, र यही कारण नेताहरू दल बदल्न बाध्यजस्तो देखिने अवस्था सिर्जना भएको छ।
“राजनीति अहिले सेवा होइन, व्यापारजस्तै बन्दै गएको छ,” दुबेले कडा शब्दमा भने,
“जसले धेरै पैसा खर्च गर्न सक्छ, उसैको टिकट सुनिश्चित हुने अवस्था लोकतन्त्रका लागि अत्यन्तै खतरनाक संकेत हो।”
युवा नेता दुबेले यस्तो अवसरवादी राजनीतिले जनताको राजनीतिप्रतिको विश्वास गम्भीर रूपमा कमजोर बनाउने, युवामा बढ्दै गएको परिवर्तनको आशालाई निराशामा बदल्ने र अन्ततः सच्चा लोकतान्त्रिक अभ्यासमाथि कुठाराघात गर्ने चेतावनी दिए।
उनले सत्ताको लोभभन्दा माथि उठेर सिद्धान्त, इमान्दारिता, जवाफदेहिता र जनउत्तरदायी राजनीतिलाई प्राथमिकता दिन सबै राजनीतिक दल र नेताहरूलाई खुला चुनौतीसहित आग्रह गरे।
“यदि यही प्रवृत्ति रोकिएन भने, चुनाव त जितिएला, तर लोकतन्त्र हार्नेछ,” दुबेले निष्कर्ष सुनाए।
Comments (0)
Add Comment