प्रतिनिधि सभाको चुनाव हुँदैन भन्ने भ्रम छर्न केही जिम्मेवार नेताहरू लागिपरेका छन् : विमलेन्द्र निधि
नेपाली काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि ले प्रतिनिधि सभाको निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउन केही जिम्मेवार पार्टीका नेताहरू नै सक्रिय रहेको आरोप लगाएका छन्।
बाराको कलैयास्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा नेपाल प्रेस युनियन द्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता निधिले निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पारे। उनले संविधान जोगाउन, सुदृढ बनाउन र राजनीतिक स्थायित्व कायम गर्न ताजा जनादेश आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि फागुन २१ गते हुने निर्वाचन निर्णायक हुने बताए।
नेता निधिले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसले सर्वसम्मत र एकताबद्ध नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पार्दै निर्वाचनको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आग्रह गरे।
यसअघि नेपाली काँग्रेसद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता निधिले फागुन २१ गते हुने निर्वाचनबारे फैलाइएको भ्रम चिर्न गाउँ–गाउँसम्म नेता तथा कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका थिए। साथै उनले निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत गराएका छन्।
नेपाली काँग्रेस नियमित अधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको प्रष्ट पारे। आउँदो महाधिवेशनमा आफू पनि नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दिन इच्छुक रहेको बताउँदै उनले यस विषयमा पार्टीका नेताहरूसँग छलफल भइरहेको जानकारी दिए।
जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी र फर्मुल्लाह मंसुर, पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश यादव लगायतले पार्टीको क्रियाशील सदस्यता, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीति बारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।