Modern technology gives us many things.

वीरगंज भन्सारको पाँच महिनाको राजस्व ९६ अर्ब नाघ्यो, पेट्रोलियम पदार्थबाट मात्रै ३० अर्बभन्दा बढी सङ्कलन

पौष १२, वीरगंज:वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ। यस अवधिमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड सङ्कलन भएको छ।
भन्सार कार्यालयका अनुसार वीरगंज नाका हुँदै पाँच महिनामा विभिन्न पाँच प्रकारका पेट्रोलियम पदार्थ रु ७२ अर्ब २८ करोड बराबरको आयात भएको छ। कुल राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा ३१ दशमलव ३९ प्रतिशत रहेको छ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टका अनुसार भन्सार राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारी साधनको आयात हो। “भन्सार राजस्वमा पेट्रोलियम पदार्थपछि सवारी साधन र तिनका पार्टपुर्जाबाट ठूलो योगदान रहेको छ,” उनले बताए।
दोस्रो धेरै राजस्व यातायातका साधन तथा तिनका पार्टपुर्जाको आयातबाट रु १२ अर्ब ७४ करोड सङ्कलन भएको छ, जसको कुल राजस्वमा हिस्सा १३ दशमलव २२ प्रतिशत रहेको छ।
त्यसैगरी फलाम तथा फलामबाट बनेका सामानबाट रु पाँच अर्ब ६५ करोड राजस्व उठेको छ भने कपडाको आयातबाट रु चार अर्ब ८५ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको प्रारम्भिक पाँच महिनामै उल्लेखनीय राजस्व सङ्कलन हुनुले वीरगंज भन्सार मुलुकको प्रमुख राजस्व संकलन केन्द्रको रूपमा स्थापित हुँदै गएको देखिएको छ।

Leave A Reply

Your email address will not be published.