काठमाडौं । शुक्रबार एकै दिन ५ वटा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश भएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार विभिन्न गरेर ५ वटा दल दर्ताका लागि निवेदन पेश भएका हुन् ।
जसमा योगेन्द्र मण्डलले राष्ट्रिय उर्जाशील पार्टी नेपाल, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल, र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा शुक्रबार निवेदन दर्ता गराएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार बिहीबार हिमालयबहादुर चन्दले नेपाल राष्ट्रिय युवा पार्टी दर्ताका लागि निवेदन दर्ता गराएका छन् । चन्दले गोलो घडी भित्र कलमको लेख्ने टुप्पो सुइको रुपमा निर्वाचन चिह्न प्रस्ताव गरिएको छ ।
यस्तै भट्टराईका अनुसार बुधबार जातीय विभेद विरुद्धका अभियन्ता एवम मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । उनले गोलो घेराभित्र राम्रो जनाउने लाइक निर्वाचन चिन्ह प्रस्ताव गरेका छन् ।
निर्वाचन आयोगका अनुसार सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएर आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन तोकिएपछि मात्रै १७ वटा दल दर्ताका लागि निवेदन दर्ता भएका छन् । जसमा हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र जनमत पार्टी फुटेर गठन भएको जनस्वराज पार्टी मात्रै दर्ता भएका छन् भने बाँकी दल दर्ताको प्रक्रिया र अध्ययनकै क्रममा रहेका छन् ।