मकवानपुर प्रहरीको सशक्त कार्यसम्पादन : लागुऔषध, भन्सार छलि र आपराधिक गतिविधिमा कडाइ
हेटौंडा, साउन ७ : चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका इकाइहरूले जिल्लामा अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेका छन् ।
प्रहरीद्वारा सार्वजनिक प्रतिवेदनअनुसार अपराध अनुसन्धानतर्फ १,०७५ वटा मुद्दा दर्ता भएका छन् भने ९२८ जना अभियुक्त पक्राउ परेका छन् ।
लागुऔषध सम्बन्धी मात्रै १८८ वटा मुद्दा दर्ता भई २८९ जना पक्राउ परेका छन् । प्रहरीले बरामद गरेको लागुऔषधमध्ये ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५ हजार २७१ थान नाइट्राभेट/ट्रामाडोल ट्याब्लेट, २ हजार ७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हेरोइन रहेका छन् । साथै, लागुऔषध ओसारपसारमा प्रयोग भएका ५५ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।
गाँजा र अफिम खेती विरुद्ध प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजा खेती र ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा रहेको अफिम खेती फडानी गरेको छ । यस अभियानमा ४२१ जना प्रहरी परिचालित भएका थिए ।
अबैध भन्सार छलि र विदेशी मुद्राको कारोबारमा समेत प्रहरीले कडाइ गरेको छ । चालु वर्षमा प्रहरीले १६ करोड १७ लाख ७४ हजार बराबरको भन्सार छलिएको सामान नियन्त्रणमा लिएको छ । बरामद सामग्रीमा ८ किलो ७३५ ग्राम सुन (मूल्य १२ करोड १७ लाख), २ किलो १९६ ग्राम चाँदी, १० थान अबैध सवारी साधन (७० लाख मूल्य बराबर) तथा ३२ हजार अमेरिकी डलर र १४ हजार युरो गरी ६२ लाख ९० हजार बराबरको अवैध विदेशी मुद्रा समावेश छन् ।
फरार रहेका १८३ जना अभियुक्त पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने १ करोड २१ लाख ७३ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
अबैध रूपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा १९५ वटा सवारीसाधन (ट्रयाक्टर–१६२, टिप्पर–३१, स्काभेटर–२) नियन्त्रणमा लिइएको छ । यसबाट ११ लाख १५ हजार ५ सय राजस्व संकलन गरिएको छ ।
यातायात क्षेत्रको हिसाबले पनि प्रहरीको निगरानी उच्च देखिएको छ । चालु वर्षमा ४०७ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् । सवारी नियम उल्लंघनमा ३० हजार ३४ वटा कारबाही गरिँदा २ करोड ४१ लाख ४५ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । मापसेमा ८४४ जना चालक कारबाहीमा परेका छन् भने लागुऔषध सेवन गरेर सवारी चलाउने २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
सडक सुरक्षा, अपराध न्यूनीकरण र सामाजिक सचेतनाका लागि प्रहरीले २ हजार ६१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सर्वसाधारण सहभागी भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, प्रहरी कानुनी कार्यान्वयनमा प्रतिबद्ध रही सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन निरन्तर क्रियाशील रहेको जनाएको छ ।